विराटनगर — साढे ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दामा इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष प्रत्युत्तर बहस प्रस्तुत गरिएको छ।
प्रतिवादीका वकिलको बहस सकिएपछि सोमबार ‘प्रत्युत्तर बहस’ गर्दै मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले उपलब्ध प्रमाणका आधारमा सबै अभियुक्त कसुरदार रहेकाले थुनामै राखेर पुर्पक्ष गर्न माग गरे ।
सरकारी वकिलले सुन तस्करी र हत्या मुद्दाका अभियुक्तहरूलाई थुनामा नराखी छाडे प्रमाण नष्ट हुने, संगठित अपराधले प्रोत्साहन पाउने एवं अभियुक्त स्वयं असुरक्षित हुने तर्क दोहोर्याएका छन् ।थुनछेकको यो बहसमा पाठकसहित चार जना सरकारी वकिल सहभागी हुने जनाइेको छ ।
मंगलबार उच्च अदालत मोरङका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, मोरङका सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम बस्तीले पनि बहस गर्नेछन्। प्रतिवादीका ६३ कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका वकिलले सुन बरामदै नभएको अवस्थामा अभियोग पुष्टि हुन नसक्ने दाबी गरेका थिए ।
प्रहरी टोलीले आपराधिक समूहसँग नजिक रहेको जस्तो गरी गरिने अनुसन्धान र कारबाही ‘अन्डर कभर अप्रेसन’ गरेको भनिए पनि यो भरपर्दो नभएको दाबी सरकारी पक्षको छ ।प्रतिवादीका वकिलहरूले भनेफौजदारी मुद्दामा प्रत्येक अभियुक्तको कसुर र कानुनी दाबी अलग–अलग लीनुपर्नेमा त्यसो नगरिएको उनीहरूको भनाइ थियो । ‘संगठित अपराध र भन्सार छलीको मुद्दा चलाउने क्षेत्राधिकार मोरङलाई छैन,’ उनीहरूले इजलाससमक्ष भने, ‘तस्करी भएको भनिएको सुनको पत्तो छैन, दसी प्रमाण नै नभएपछि सुन तस्करी भएको प्रमाणित हुनै सक्दैन ।’
जिल्ला सरकारी वकिल कार्यालय मोरङले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गर्दै जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो । तीमध्ये पछि थपिएका समेत गरी ३२ जना प्रहरी नियन्त्रणमा छन् ।
