नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार सांसदको उपस्थिति कमजोर थियो ।
सांसद कुमारी मेचेले नीति तथा कार्यक्रममाथि बोलिरहँदा संसद्को अघिल्लो भागको कुर्सीमा सत्तापक्षका देव गुरुङ र सुवासचन्द्र नेम्वाङ मात्रै थिए । विपक्षी दलको सिटमा कोही पनि थिएनन् ।दोस्रो भागमा सत्तापक्षको सबै सिट खाली थियो ।
संसद्मा हाजिर गरेर भत्ता सुनिश्चित गर्ने सांसद २२२ थिए, तर बैठकमा उपस्थित सांसद ५५ मात्र थिए । उपस्थितमध्ये पनि आफ्नो मन्तव्य दिएपछि हिँडे । उनीहरू संसद्को बहसमा होइन, क्यान्टिनको गफमा व्यस्त थिए । संसद् प्रतिपक्षको मञ्च हो, तर प्रतिपक्ष कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बोल्न नाम लेखाएर पनि बोल्न चाहेनन् । सभामुखले तीनपटक नाम लिँदा पनि उनी भेटिएनन् ।राजपा र फोरमको कुर्सी पनि खाली थियो ।
सचिवालयका अनुसार १ सय ८० भन्दा बढी सांसद हाजिर गरेर निस्किएका थिए । छलफलमा सहभागी सांसद पनि त्यहाँ उठाइेका विषयमा भन्दा मोबाइल चलाउनमै व्यस्त देखिएका थिए ।