काठमाडौँ —२०५८ साल फागुन ४ गते अछाममा आक्रमण गर्दा बम बिस्फोट गराइेसँगै ध्वस्त भएको विमानस्थलमा समिट एयरको लेट विमानले शुक्रबार टेस्ट फ्लाइट गरेको छ।
तत्कालिन माओवादीले अछामको सदरमुकाम मंगलसेनमा आक्रमण गरेसँगै बन्द भएको त्यहाँको विमानस्थलमा १६ वर्षपछि शुक्रबार विमान अवतरण गरेको हो।
साफेंबगरमा डेढ दशक पछि विमान अवतरण भएसँगै क्याप्टेन एडी शर्पा लगायत चालकदलका सदस्यलाई स्थानीयहरुले स्वागत गरेका थिए।
सिमिकोटबाट नेपालगन्ज फर्कँदै गरेको विमानले साफेंबगरमा टचडाउन गरेको थियो।
यो विमानस्थलको धावनमार्ग ५५० मी लामो छ। यसबाट १९ सिटे साना विमानहरुले उडान भर्न सक्ने छन्। विमानस्थल बन्द हुनु अघि त्यहाँ नेपालगन्ज, धनगढी र काठमाडौंबाट पनि उडान हुने गर्थे।
द्वन्द्वकालमा ध्वस्त भएको विमानस्थल पनर्निर्माणका लागि नागरिक उड्डयन प्रधिकरणले ०७३ चैतमा ११ करोड १७ लाखको ठेक्का दिएको थियो।