काठमाडौं- सरकारले प्रत्येक वर्ष विशेष अवसरमा कानुनानुसार कैद मिनाहा गर्न मिल्ने कैदी–बन्दीको कैद मिनाहा गरी उनीहरूलाई छाड्दै आएको छ। विभागका अनुसार अहिलेसम्म देशभरिका कारागारमा २० हजार ८ सय १५ कैदी–बन्दी रहँदै आएका छन्।
यसमध्ये पुरुष १८ हजार ३ सय ३६, महिला १ हजार ३ सय २७, विदेशी १ हजार ६९ र बालबालिका २ सय ५८ जनाले कैद भुक्तान गरिरहेका छन्। यस्तै काभ्रेपलाञ्चोकमा २० जना र लमजुङमा २ जना मानसिक बिरामी कैदीबन्दी रहेका छन्।
सरकारले यस वर्षको गणतन्त्र दिवसमा ८ सयभन्दा बढी कैदी–बन्दीको कैद मिनाहा गर्ने भएको हो।
राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’’
यो विज्ञप्तिमा तत्कालिन माओवादीका नेता बालकृष्ण ढुंगेलको नाम नपरेपनि उनको नाम कैद माफी हुने सूचीमा रहेको स्रोतले बताएको छ ।