काठमाडौं : कांग्रेस सांसद गगन थापाले जन्मकैदको सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय गलत भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
‘चालचलन ठिक भएको भन्दै जन्मकैदको सजाय पाएका व्यक्तिलाई रिहा गरिएको छ। यसले कानुनी राज्यको खिल्ली उडाएको छ’, संसदमा बोल्दै थापाले भने, ‘यो गणतन्त्र हो। हिजो राजा होइबक्सन्थ्यो। आज गणतन्त्रमा सम्माननीय प्रधानमन्त्री राजा होइबक्सन्न। राजाले चालचलन ठिक भयो भनेर कसैलाई माफी दिन सक्ने। तर, प्रधानमन्त्रीलाई चालचलन ठिक लाग्यो भन्दैमा कसैलाई छुट दिने अधिकार छैन। यो कानुनी राज्य हो।’
द्वन्द्वकालका मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउने अझ ढुंगेलको मुद्दामा सम्मानित अदालतले पटकपटक जन्मकैदको फैसला गरेकाले उनलाई रिहा गर्नु कानुनी राज्यको उपहास भएको थापाको भनाइ छ।