म्याड्रिड, स्पेन — रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गरेका छन् ।
जिनेदिन जिदानले पदबाट राजीनामा दिएका छन्। सन् २०१६ मा राफेल बेनिटेज बर्खास्त भएपछि उनी प्रशिक्षक नियुक्त भएका थिए। रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेको पाँच दिनपछि क्लबबाट विदा लिन लागेको घोषणा गरेका हुन्। उनको नेतृत्वमा रियल म्याड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जितेको हो। रियल मड्रिडले च्याम्पिन्स लिगको उपाधि जितेको ५ दिनपछि आएको प्रशिक्षक जिदानको राजीनामाले धेरैलाई आश्चर्यमा पारेको छ।
पत्रकार सम्मेलनमा जिदानले आफ्नो कार्यकाल सफल भएको र आफू सन्तुष्ट रहेको बताए। राजीनामाको निर्णय आफैले गरेको र तीन वर्षे कार्यकालमा क्लबको मूल्य मान्यता कायम राख्न कडा परिश्रम गरेको उनले सुनाए। ‘यो अवधिमा मैले खेलाडीबाट सधैं सम्मान पाएँ, त्यो विना सफलता पाउन असम्भव थियो’, उनले भने।
प्रेस सम्मेलनमा उनले भने , ‘मैले रियल म्याड्रिडको प्रशिक्षकका रूपमा अर्को वर्ष निरन्तरता नदिने निर्णय लिएको छु। तीन वर्षपछि मैले अर्को बाटो अर्थात् काम गर्ने अर्को शैली अपनाउनुपर्छ।’
उनको प्रशिक्षणमा रियलले १४९ खेल खेलेको छ। जसमा १०४ मा जित र २९ खेलमा बराबरी नतिजा हासिल गरेको छ।