काठमाडौं–नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले भने वर्तमान राजनीतिक चुनौतीलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने बताएका छन्।कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिएका छन्।
सिंहले भने, ‘अहिलेको चुनौतीलाई सामना गर्न सक्ने क्षमता छ भनेर यदि हामीले आम जनता र आम कार्यकर्ताहरुलाई इम्प्रेसन दिन सकेनौं भने हिस्ट्री जति राम्रो भए पनि यो पार्टी गर्ल्याम गुर्लुम्म जान्छ।’
कम्युनिस्टको सामना गर्नका लागि हरेक निर्वाचन क्षेत्रमा, आम जनतासँग जोडिएर उनीहरुका समस्या समाधान गर्न लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले भने, ‘मेहनत धेरै गर्नुपर्ने हुन्छ। नेताहरु, कार्यकर्ताहरु सबैले मेहनत गर्नुपर्यो। हामी एकदम तयार हुनुपर्यो। खाली अर्काको आलोचना गरेर कोही पनि अगाडि बढ्न सक्दैन।’
उनले अघि भने, ‘मेरो व्यक्तिगत रुपमा कसैप्रति गुनासो छैन तर सवाल के छ भने पार्टी जोगाउने कि नजोगाउने ? यसरी त चल्दैन नी पार्टी। तपाईंहरुलाई लाग्ला आफू ठूलो हुनलाई यसले यस्तो कुरा उठाइरहेको छ, त्यो होइन। म १७ सालदेखि कै भुक्तभोगी हुँ। कार्यकर्ताहरुलाई के कस्ता कष्ट अैरहेका हुन्छन् भन्ने कुरा मैले देखिरहेको छु।
त्यसका लागि सबैभन्दा पहिले पार्टीको केन्द्रिकृत विधानलाई संशोधन गर्नुपर्नेमा सिंहले जोड दिए। उनले भने, ‘हाम्रै पार्टी सभापति सुशील कोइरालाको पालामा संघीयतासहितको संविधान जारी गर्ने तर पार्टीचाहिँ अझैसम्म पनि एकात्मक केन्द्रियतामा अल्झिएर बसेको छ त्यो त भएन नि। यसमा सुधार गर्नुपर्यो। विधानलाई संशोधन गर्नुपर्यो।’