काठमाडौं–नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्।
दल दर्ताका लागि पार्टी दर्ता ऐन २०७४ को धारा १५ (४) बमोजिम महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य हुनुपर्ने प्रावधान छ।तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि गठन भएको नेकपाको केन्द्ॠय समितिमा हाल ४ सय ४१ सदस्य छन् । जसमा महिलाको संख्या ७२ मात्र छ । यो कुल संख्याको १६ प्रतिशत मात्रै हो ।
एकतापछि नेपालको सबैभन्दा ठूलो पार्टी बनेको सत्तारुढ नेकपाले पार्टीका हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउदै लगेकोमा पार्टी भित्र र बाहिर आलोचना भैइरहेको छ। निर्वाचन आयोगका अधिकारीहरुले समावेशितामा देखिएको समस्या समाधानका लागि पार्टीका शीर्षस्थ नेताहरुलाई जानकारी गराईसकेको बताए ।
महिला सहभागितालाई लिएर पार्टी दर्ताकालागि कानुनी जटिलतामा फसेको नेकपाको पहिलो केन्द्रीय समितिको बैठकमा समेत पार्टी नेतृत्वको महिला सदस्यहरुले आलोचना गरेका थिए ।