हेटौंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार ३ नं प्रदेश सभालाई विशेष सम्बोधन गर्दै भने, ‘११ वर्ष भयो मैले किड्नी फेरेको। बुढो पनि भैसके। सबै पाटपुर्जा फेरेको जस्तो छु। तैपनि बीस घन्टा खटिएको छु । हिजो पनि २ बजे सुतेको, अस्ती पनि २ बजे राती सुतेको हुँ।’ देश बनाउछु भनेर नै अस्वस्थताका बावजुद दैनिक अठार बीस घन्टा काम गरिरहेको छु।
‘पूर्व प्रधानमन्त्रीको सूचीमा मेरो फोटो अगाडि नै झुन्डीसकेको छ। अब त्यहाँ मेरो नयाँ फोटो राख्ने पनि हैन, त्यसैले काम गर्छ’ प्रधानमन्त्री ओलीले भने, ’आरामदायी जिन्दगी विताउन सक्थे । मुलुक बनाउँछु भनेर नै म खटिएको हुँ। हामी हरेकका काम गर्ने भावना चाहियो।’
उनले आफुले पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचारलाई नसहने पनि बताए। उनले हरिभक्त कटवालको ‘जुनलाई टाढैबाट हेर प्रिय त्यहाँ दाग देख्न सक्छलाई बदलेर नजिक बाट हेर साथी धब्बाहरु खोजेर हेर’ भन्ने बनाउन सक्नु पर्ने पनि उल्लेख गरे।
‘हाम्रो मुल उद्देश्य दाग र धब्बारहित काम हो, कसैले दाग लाग्ने काम गर्छ भने त्यसलाई छाड्दैन’ उनले भने, ‘सोध्नु होला, कस्ले छाड्दैन भनेर। त्यो जनताले छाड्दैन। अवका जनताले चित्रगुप्ताले भन्दा राम्रोसंग हिसाव राखेका छन्।’
प्रधानमन्त्री केपी ओलीले आफु पदमा आएर केही लिनु नरहेको उल्लेख गर्दै बरु देशलाई सकेको दिन आएको बताएका छन् ।