धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यद्वय भीम रावल र लेखराज भट्ट ७ नम्बर प्रदेश राज्यबाट मात्रै होइन पार्टीका उपल्लो तहबाट पनि विभेदमा परेको भन्दै एकमत देखिएका छन्।
दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछि पहिलोपटक धनगढीमा आयोजित नेकपाको भेलामा बोल्दै प्रमुख अथिति रहेका रावलले पार्टी विधान र देशको संविधानमा सामाजिक न्याय, विभेद तथा शोषणको अन्त्य, समानुपातिक र समानताका आधारमा जिम्मेवारी दीने भनिएपनि सरकार तथा पार्टी नेतृत्व पंक्तिमा व्यवहारमा ७ नम्बरको उचित प्रतिनिधित्व हुन नसकेको गुनासो गरे।
नेता भीम रावल र लेखराज भट्टले कार्यकर्ताको दबाब र दुई अध्यक्षको चलाखीले पार्टी एकता सम्भव भएको बताए। नेताद्वयले विगतमा दुई पार्टी हुँदा भएका विवाद र मनमुटावलाई इतिहासमा सीमित गर्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे।
नेता भट्टले ७ नम्बरमाथि फेरि पनि विभेद जारी रहिरह्यो भने विद्रोह हुनसक्ने चेतावनी दिए। ‘पार्टी एकतापछि कार्यकर्ता व्यवस्थापन चुनौतीपूर्ण छ’, उनले भने– ‘नयाँ पार्टी र नयाँ सोच बनाउनका लागि पुराना पार्टीहरु भत्काइेकोमा कार्यकर्ताले ध्यान दिनु जरुरी छ।’
