काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बृद्ध राष्ट्र निर्माणका लागि एक भएर अघि बढ्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई रातीअबेर शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले बिगतमा झै राष्ट्र निर्माणको आगामी दिनमा समेत मिलेर अघि बढ्न सुझाउनुभएको हो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीकाअनुसार, आर्थिक र सामाजिक सम्बृद्धि, दीगो शान्ति स्थापना कायम गर्न सवै आग्रह पूर्वाग्रह त्यागेर साझा एजेण्डामा एक हुन राष्ट्रपति भण्डारीको बिशेष जोड थियो ।
२ घण्टा लामो भेटमा राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘लोकतन्त्र र गणतन्त्र स्थापनाका साथै निर्वाचनमा समेत तपाईहरुले मिलेर काम गर्नुभयो । आर्थिक सम्बृद्धि र समाजवाद उन्मुख मुलुक निर्माणका लागि समेत साझा एजेण्डा बनाएर मिलेर काम गर्नुहोस ।’
शिक्षाको गुणस्तर खस्किएको प्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र, राष्ट्रियता र देश प्रेम अभिबृद्धिका लागि समेत गुणस्तीय शिक्षा महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । शिक्षाको स्तर उकास्न एकजुट भएर लाग्नु पर्नेमा उहाँको बिशेष आग्रह रहेको अधिकारीले जानकारी दिनुभयो । आय प्रतिस्थापन गर्दै रोजगारीको अवसर सृजना गरेर बिदेश पलायन हुने क्रम रोक्ने तर्फ कदम चाल्न उहाँको सुझाव थियो ।