काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले आन्तरिक सुरक्षा चुनौतीका लागि ३ वटा समूह रहेको दाबी गरेका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले ७ वटै प्रदेशमा गरिएको सुरक्षा गोष्ठीका आधारमा मुलुकमा ३ वटा समूह (विप्लव, तरारिका सशस्त्र समूह र धार्मिक अतिवादी)ले सुरक्षा चुनौती खडा गरेको पाइेको बताए।
समानान्तर सरकार घोषणा गर्दै हिड्ने तत्वले आन्तरिक सुरक्षामा चुनौती दिएको भन्दै उनले नेकपा विप्लव समूह राजनीतिक अतिवादी रहेको पनि दाबी गरे। मुलुकमा अस्थिरता निम्त्याउन नेकपा विप्लव समूह, गोइत, सीके राउत र ज्वाला समूह, विभिन्न धार्मिक समूहले आन्तरिक सुरक्षामा चुनौती खडा गरेको उनको भनाई छ।
‘जनताको सरकार होइन भन्दै हिड्ने, राज्य विद्रोह गर्ने, विभिन्न ठाउँमा विस्फोट गराउने, हिन्दू राज्य घोषणाको माग गर्ने, २०२५ सम्ममा मुलुकभर चर्च खडा गर्ने नारा दिएर हिड्ने समूह आन्तरिक सुरक्षाका लागि चुनौती बनेका छन्’, गृहमन्त्री थापाले भने– ‘यी सबै समूहको अवस्था न्यून रहेको र यिनलाई निस्तेज गरिनेछ।
थापाले समयमा काम नगर्ने जोसुकै ठेकेदार भएपनि कारवाही गरिने बताएका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उपत्यकामा ५ सय वटा परियोजनामध्ये ३ सय योजना अलपत्र भएको बताउँदै नेता ठेकेदार, कार्यकर्ता ठेकेदार र नेताको संरक्षणमा रहेका ठेकेदार जो भएपनि कानूनी दायरामा ल्याइने बताए।
उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई घर भाडामा दिने शारदा प्रसाद अधिकारीले काठमाडौंमा रहेका सडकको ठेक्का समयमै नसकेको प्रश्नको जवाफ दिँदै भने– ‘जसले पनि कानूनको पालना गर्नुपर्छ, बेइमानीमाथि कारवाही हुन्छ।’