काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउनजिक रहेको दाबी गर्दै तस्करलाई सहगोग गर्ने पनि निगरानीमा रहेको बताएका छन् । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिको काम प्रभावित बनाउने र तस्करलाई जोगाउने प्रयास भैरहेको दाबी गर्दै उनले त्यस्ता समूह र व्यक्ति पनि निगरानीमा रहेको बताएका हुन् ।
‘छानबिन त्रुटिपूर्ण छ भन्ने जस्ता कुरा आएका छन् । गृह मन्त्रालयले जुन कदम उठाएको छ त्यो हचुवाको भरमा होइन, ठोस तथ्य र प्रमाणका आधारमा छानबिन भैरहेको छ । हामीसँग ठोस प्रमाण छन् । कोही कसैले पनि तस्करलाई सहयोग गर्ने गरी वा छानबिन समितिलाई प्रभाव पार्ने प्रयास गरे निस्तेज पारिनेछ’, गृहमन्त्री थापाले भने । उनले छानबिन समिति तस्करको जति नजिक पुग्दैछ त्यति नै ठूला माछा छटपटाइरहेका दाबीसमेत गरे । ‘यसलाई छटपटीको रुपमा पनि बुझेका छौं । तथ्यलाई तोडमोड गर्ने भ्रम खडा गर्ने काम भैरहेको छ, अब भुरा माछा र मझौला माछापछि ठूला माछा हात पर्न लागेका छन्’, गृहमन्त्री थापाले भने ।
सुन तस्करीका मुख्य व्यक्ति पक्राउ नपरेसम्म र अनुसन्धान प्रक्रिया नटुंगिएसम्म छानबिन समितिको म्याद थपिन सक्ने पनि उनको भनाइ थियो । ‘अब भुरा माछाबाट ठूला माछाको नजिक पुग्दैछौं ,नजिक पुग्न लाग्दा केही ठूला माछा छट्पटाउन थालेका छन् यसले गर्दा केही दिन ढिलाइ हुन सक्छ, त्यसकारण समितिको समय पनि थपिन सक्छ’, उनले भने । गृहमन्त्री थापाले सरकारले जोखिम मोलेर भए पनि अनुसन्धान प्रभावकारी रुपमा अगाडि बढिरहेको दाबी गरे ।
केही दिनयता केही पूर्वप्रहरीबाट सरकारको अनुसन्धान तथ्यहीन भएको अभिव्यक्ति अैरहेको विषयलाई लिएर गृहमन्त्री थापाले समितिको काम कारबाही सही दिशामा अगाडि बढिरहेको दाबी गरेका हुन् ।