भक्तपुर, २४ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् ।
बिहीबार सहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उनले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री देउवाले भने, “प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहनुभएका जोन्छेंमाथि द्वन्द्वका नाममा उहाँकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनुहुँदैन ।”
पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली कांग्रेसभित्रको गुटौपगुटको अन्त्य गरी एकढिक्का बनाएर लैजाने जिम्मेवारी पार्टी सभापति देउवाको भएको भन्दै यसमा पार्टी देउवा अग्रसर हुनुपर्नेमा जोड दिए ।
पार्टी जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सहिद जोन्छेंले प्रजातन्त्र स्थापनमा पुर्याएको योगदानको चर्चा गरे । नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेस कुनै पनि परिस्थितिको सामना गर्दै अगाडि बढ्ने र देशका लागि जस्तोसुकै मूल्य चुनाउन तयार रहने बताए ।