निजगढ — एक सय रुपैयाँको लेनदेनको विषयमा कलैया उपमहानगर पालिका १२ विश्वम्भरपुरमा दुई पक्षबीच भएको झडपले एक बृद्धको ज्यान लिएको छ ।
कुरा सय रुपैयाँ बक्यौताको हो । मैनेजर प्रसाद साहको खेतमा मख्खन साहको पम्पसेटबाट पानी हालिएको थियो । त्यसबापत मैनेजरले मख्खनलाई सय रुपैयाँ दिन बाँकी थियो । बुधवार साँझ मख्खनले मैनेजरसंग उक्त रकम मागेका थिए । ‘मख्खनले पैसा तिरेर जान भनेपछि वादविवाद भएको थियो,’ एक स्थानीयले भने, ‘त्यही विवाद बढेर हात हालाहाल हुन पुग्यो ।’ त्यही बेला मख्खनका छोरा २० वर्षीय दिपक साहले आक्रोशित भैइ बासको चिरपट झिकेर मैनेजरको टाउकोमा प्रहार गरेको स्थानीयले बताएका छन् ।
चिरपट प्रहारबाट गम्भीर चोट लागेका ६५ वर्षीय मैनेजरलाई कलैया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी बीरगंज पुर्याईेको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि राजधानीस्थित न्यूरो अस्पताल पुर्याईेको थियो । उपचारको क्रममा बिहीबार काठमाडौंमै उनको मृत्यु भएको परिवारले जनाएको छ ।
घटनापछि पीडक पक्ष स्थानीय मख्खन साह कानु, उनको २० वर्षीय छोरा दिपकलगायत परिवारका अधिकांश सदस्य घर छाडेर भागेका छन् ।
खेतमा सिचाई गरेवापतको रकम मध्ये एक सय रुपैयाँ लेनदेनको विषयमा दुबै पक्षबीच भएको सामान्य वादविवादले उग्र रुप लिंदा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।