विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको छलफल मा उद्योग खोल्नका लागि वातावरण बनाउन सरकार तयार रहेको बताएका छन्।
ओलीले उद्योग खोल्न आबश्यक सबै खालको व्यवस्था गर्न सरकार तयार रहेको बताए। ओलीले भने, ‘उद्योग खोल्न के के चाहियो? कानून, नियम, निर्देशन, सुविधा सबै दिन सरकार तयार छ।’ बैदेशिक व्यापारका लागि भारत र चीन सग पनि सरकारले सहजीकरण गरिदिने ओलीले आश्वासन दिए। उनले हालको अवस्थामा बैदेशिक व्यापार सन्तुलनको कुरै गर्नु बेकार रहेको बताए।
ओलीले अनाबश्यक जङ्क फुड र कोल्ड ड्रिङस्को उपभोगले व्यापार घाटा उच्च बनाइरहेको बताए। ‘कन्फ्लेक्सको साटो, चिउरा र पपकन तथा जङ्क फुडको साटो मकै भटमास खाए हुँदैन?’ ओलीले प्रश्न गरे। सरकारको नीति अर्गानिक नेपाल बनाउने भएकाले त्यसका लागि आबश्यक बस्तु आयातलाई मात्रै सरकारले प्रोत्साहन गर्ने स्पष्ट पारे।
देशी कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष संरक्षण गर्ने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे। स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई संरक्षण गर्ने नीति अनुसार नै आयातित चिनीमा भन्सार बृद्धि गरिएको उनको भनाई छ।
ओलीले भने, ‘नियम कानूनले नमिल्ने भएरमात्रै नभए चिनीमा सरकारले अझै धेरै कर लगाउने थियो।’ विदेशबाट केमिकल ल्याएर घोलेर बेच्ने खालका सानातीना व्यापारका कुरा मात्रै नगर्न उद्योगीहरूलाई उनले आग्रह गरे।
उनले ड्रिङक, जुसका नाममा विदेशबाट अर्बौको केमिकल आयात भैरहेको भन्दै आँपको बोक्रा पनि नभएको ड्रिङकका लागि पैसा खर्च नगर्न समेत गरे।