क्युबेक, (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको क्युबेकमा भैरहेको विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको संगठन जी–७को शिखर बैठकमा रुसलाई पनि सहभागी गराउनुपर्ने बताएपछि उनी एक्लिन पुगेका छन्।
उनले रुस एक प्रमुख औद्योगिक देश भएको र उसलाई पुनः उक्त समूहमा स्थान दिनुपर्ने सुझाव अगाडि सारेका थिए।
ट्रम्पका कयौं मुद्दामा जी–७ देशका नेता उनीसँग सहमत देखिएका छैनन्। उनले भने– ‘तपाईंलाई मन परे पनि नपरे पनि वा राजनीतिक रूपमा सही भए पनि नभए पनि, हामीलाई विश्व चलाउनु छ। जी–७ जसमा पहिला रुस पनि थियो र उसलाई बाहिर पठाइयो। त्यसैले रुसलाई फेरि यसमा सहभागी गराउनुपर्छ।’
यस मुद्दामा इटालीका नयाँ प्रधानमन्त्री जुसेपे कोन्टेले ट्रम्पको समर्थन गरेका छन्। उनले ट्विटमा भनेका छन्– ‘सबैको हितको रक्षाका लागि रुसलाई सहभागी गर्नुपर्छ।’ यसबीच क्यानडा, फ्रान्स र बेलायतले तत्काल ट्रम्पको सुझावमा सहमत नभएको संकेत दिएका छन्।
सन् २०१४ मा क्रिमियामाथि कब्जापछि रुसलाई जी–८ देशको समूहबाट निष्कासन गरिएको थियो र यो समूह जी–७ बनेको थियो।