काठमाडौं – सरकारले संयुक्त राष्ट्रसंघको नेपालस्थित राजनीतिक मामिलासम्बन्धी कार्यालय (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ ।
सरकारको अनुमतिबिना सञ्चालन भैरहेको उक्त कार्यालयको उपादेयता नरहेको भन्दै बन्द गर्ने निर्णय गरिएको हो । छोटकरीमा ‘युएनडिपिए’ भनिने उक्त कार्यालय बन्द गर्न सरकारले राष्ट्रसंघलाई पत्र पठाइसकेको छ । युएनडिपिए नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयान्तर्गत सञ्चालन हुँदै आएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भनेनेपालको शान्ति प्रक्रिया टुंगिसकेको र नयाँ संविधानानुसार सबै तहका निर्वाचन सम्पन्न भैइ देश शान्ति र स्थिरतातर्फ अघि बढेकाले अब उक्त कार्यालय आवश्यक नरहेको ठहर गर्दै सरकारले बन्द गर्ने निर्णय लिएको हो ।
युएनडिपिए कार्यालय नेपालमा सुरुदेखि विवादित थियो । नेपालको शान्तिप्रक्रियामा सघाउन आएको राष्ट्रसंघीय मिसन (अनमिन) फिर्ता भएपछि सरकारसँग अनुमति नलीइ नेपालस्थित राष्ट्रसंघको कार्यालयले डिपिए सञ्चालनमा ल्याएको थियो । सन् २००७ देखि २०११ फेब्रुअरी १५ सम्म नेपालमा अनमिनले काम गरेको थियो । माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने विषयमा अनमिनले सघाएको थियो । सन् २०११ मा अनमिन फिर्ता भएपछि राष्ट्रसंघले नेपाल सरकारसँग अनुमति नलीइ लियाजो अफिसका रूपमा डिपिए राखेको थियो ।
सरकारसँग अनुमति नलीइ सञ्चालनमा आएको कार्यालयले देशको हितविपरीत कार्य गरेको थाहा पाएपछि कार्यालय बन्द गर्ने निर्णयमा पुगेको स्रोतले बतायो । सरकारले राष्ट्रसंघलाई आधिकारिक पत्र पठाइसकेकाले अब छिट्टै युएनडिपिएको कार्यालय बन्द घोषणा गर्ने स्रोतले जनायो ।