काठमाडौँ — मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने बैंकहरूबीचको ‘भद्रसहमति’ तोडिएको छ ।
यससँगै बैंकहरूमा ब्याजदर बढ्ने भएको छ । बैंकहरूमा अझै पनि तरलता (लगानीयोग्य रकम) सहज भैनसकेकाले ब्याजदर बढ्ने देखिएको हो ।
बैंकहरूबीच ब्याजदर बढाएर एकार्काको निक्षेप तान्ने प्रतिस्पर्धा चलेपछि गत पुस दोस्रो साता बैंकर्स संघले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका थिए ।
अैतबार बसेको बैंकर्स संघको बैठकले करिब ६ महिनाअघिको ‘भद्रसहमति’ लाई अब निरन्तरता नदिने निर्णय गरेको हो । बैंठकमा केही बैंकरहरूले सहमति कायमै राख्ने पक्षमा तर्क राखे पनि बहुमत बैंकरले हटाउन भनेपछि सहमति तोडिएको थियो । यो निर्णयसँगै बैंकहरूलाई स्वतन्त्र रूपमा ब्याजदर बढाउन बाटो खुलेको छ ।
यसको संकेत सोमबार नै देखिएको छ । सोमबार दुईवटा वाणिज्य बैंकले संस्थापक निक्षेपको ब्याजदर बढाएर क्रमश: १२ र १२।२२ प्रतिशत पुर्याइसकेका छन् । प्रकाशित ब्याजदरमा दुई प्रतिशत तलमाथि गर्न सक्ने अधिकार बैंकसँग रहन्छ । यसका आधारमा एकवर्षे मुद्दती निक्षेपको ब्याजदर सोमबार नै १४ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।