काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसका शीर्ष नेताहरुले सरकारका निर्णय र गतिविधि संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि विरुद्ध देखिएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन ।
नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ अधिवेशनको मंगलबार भएको उद्घाटन सत्रमा नेताहरुले कांग्रेसलाई एक्ल्याएर कम्यूनिष्ट शासन लाद्न खोजिएको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन् ।
‘यो सरकारविरुद्ध चाडै नै आन्दोलनको घोषणा गर्नुपर्ने दिन अौँदैछ’ देउवाले भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको राष्ट्रवादको नारा लम्पसारवादमा परिणत भएको बताए ।
सभापति शेरवहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने दिशामा प्रधानमन्त्री केपी ओली लागेको भन्दै त्यसबिरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सञ्चालनका लागि सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई भन्दा बढीको समर्थन हुनेगरी सरकारमा सबैलाई ल्याउन खोज्नु रहस्यमय भएको बताए । ‘यो घटना रहस्यमय र शंकास्पद छ, कांग्रेस समयमै सतर्क हुनुपर्छ’ उनले भने, ‘संविधान संशोधनको चर्चा, प्रादेशिक संसदमा प्रधानमन्त्रीको सम्बोधन, लोकतान्त्रिक संरचनामाथि नियन्त्रित अभ्यास राज्यसत्ता केन्द्रीकृत गर्ने योजनाबाट आएको छ ।
यसका विरुद्ध हामी लड्नुपर्ने हुन्छ ।’उपसभापति विमलेन्द्र निधिले कम्यूनिष्ट नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने दिशामा संविधान विपरितका काम गर्न थालेको बताए ।
महामन्त्री सशांक कोइरालाले ‘कांग्रेसलाई सम्पूर्ण रुपमा एकजुट नबनाएसम्म हामी कम्यूनिष्टसंग जुध्न सक्दैनौ’ उनले भने,‘मेरो अभियान कांग्रेसलाई एक बनाउने छ । यसमा सबैले साथ दिनुहोला ।’
कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले भविष्यका चूनौतिहरुलाई सामना गर्न सक्ने क्षमताको पार्टी बनाउनु पर्ने भन्दै एकतामा जोड दिए ।