दूधमा कपडा धुने सोडा , साबुन देखि युरिया र नुनसमेत मिसाइने

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइेको छ ।

काठमाडौं उपत्यकाभित्र का २५ डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्‍याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो । नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकार्बाेनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडियम कार्बाेनेट गरी तीनवटै रसायन (क्षार) को मिसावट हुने गरेको देखिएको छ । ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने ।

कृषिमन्त्री चक्रपाणि खनालले दूध उत्पादनमा उपभोक्ताको स्वास्थ्यको ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए । ‘सबै मापदण्ड ठीक भएका कुनै पनि दूध देखिएनन्,’ उनले भने, ‘म नयाँ मापदण्ड बनाउँदै छु । के–के गर्नुपर्ने हो, निर्देशन दीसकेको छु । अब त्यसै छाडिँदैन ।’ उनले उद्योग मन्त्रालयसँग मिलेर नयाँ मापदण्ड बनाइरहेको र अब अनुमतिपत्र रद्द गरेरै कारबाही गरिने बताए । दूधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनले बताए । ‘यस्तो पनि राज्य हुन्छ, देशै होइनजस्तो भएको छ मलाई,’ मन्त्री खनालले भने ।

उनका अनुसार काठमाडौं भित्रिने दूधमा कास्टिक सोडाबाहेक चिनी, नुन तथा युरिया पनि मिसावट भएको देखिन्छ । पशुले खाने दानामार्फत युरिया दूधमा देखिने गरेको छ । रसायनबाहेक दूधबाट सर्ने रोग क्षयरोगका जीवाणु, कोलिफर्म, इकोलाई आदि पनि भेटिने गरेको उनले बताए । खाद्य प्रविधि विभागको फुड स्ट्यान्डर्ड निर्देशिकाले दूधमा पानी पनि मिसाउन रोक लगाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *