काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले नेपालका सांसदहरुलाई एकदुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘यूएनडीपीलाई मेरो भन्नु के छ भने यस प्रकारको सहयोग गर्न हामीलाई रकम चाहिँदैन्, दुई दिनको सेमिनारमा दुई छाक भात हामी आँफ्नै पैसाले खाएर पनि प्रशिक्षण लिन सक्छौं ।’
नेता शर्माले भने, ‘यूएनडीपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी छैन, बरु संसद भवन निर्माण गरिदिए हुन्छ, सांसदको लागि आवास बनाइदिए हुन्छ, टुक्रे र खुद्रे कामको लागि हामीलाई सहयोग चाहिँदैन् ।’
नेता शर्माले साना-साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्तिसमेत जनाए । उनले भने, ‘व्यक्तिव्यक्तिसँग सम्पर्क बढाउने र प्रभावित पार्ने काम भएको छ, अब यी कामहरु बन्द होउन् ।’
शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढी केन्द्रित हुनुपर्छ, उनको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ ।’
उनले भने, ‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रुपमा सफल हुन्छ भन्नेमा म विश्वस्त छु ।’