सत्तारुढ विद्यार्थी संगठनको मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न ८ बुँदे माग

Uncategorized
शेयर गर्नु होला

 

काठमाडौं – सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न माग गरेका छन्। बिहीबार बागबजारमा बसेको दुई विद्यार्थी संगठनको बैठकले मूल्य वृद्धि तथा मंहगी नियन्त्रण सहित सरकार समक्ष ८ बुँदे माग राखेको छ।

यस्ता छन् ८ बुँदे मागः

१-  पेट्रोलियम पदार्थको मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकार र नेपाल आयल निगमको गम्भीर ध्यानाकर्षण गराउँदछौं। यससँगै सरकारलाई पेट्रोलियम पदार्थमा तोकिएको करको दर घटाउन र नेपाल आयल निगमको अनावश्यक फजुल खर्च र चुहावट रोक्न माग गर्दछौं।

२-  विगतमा रातो र निलो गरी दुई खालका सिलिन्डर बनाई रातो सिलिन्डरलाई सहुलियतपूर्ण दरमा वितरण गर्ने विद्यार्थी संगठनसँगको सम्झौता अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं।

३-  विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण प्रदान गर्ने बजेटको व्यवस्थालाई स्वागत गर्दै त्यसलाई ठोस कार्यविधि बनाई अबिलम्ब कार्यान्वयन गर्न अर्थ मन्त्रालय लगायतका सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछौं। साथै उक्त ऋणमा व्यवस्था गरिएको ५ प्रतिशत व्याजको विद्यमान प्रावधान खारेज गरी विद्यार्थी आन्दोलनको माग अनुसार विना व्याज शैक्षिक ऋण उपलब्ध गराउन माग गर्दछौं।

४-  संविधानको धारा ३१ को उपधारा १ र २ बमोजिम शिक्षामा सबैको पहुँच स्थापित गर्न र विद्यालय तहको शिक्षा निःशुल्क बनाउने प्रावधान कार्यान्वयनका लागि शिक्षामा छुट्याइेको बजेट अपर्याप्त रहेकाले २० प्रतिशत बजेट छुट्याउन पुनश्चः विशेष माग गर्दछौं।

५-  ‘संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२’ कार्यान्वयन गर्न र बढाइेको शुल्क फिर्ता गर्न विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबिच भएको सहमति कार्यान्वयनमा देखाइेको उदासिनता प्रति खेद प्रकट गर्दै उक्त सहमतिको अक्षरश कार्यान्वयन गर्न गराउन गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछौं।

६-  मुलुकलाई अनावश्यक आर्थिक भार पर्नेगरी भुतपुर्व विशिष्ठ श्रेणीका पदाधिकारीहरुलाई सुविधा दिनका लागि अघि बढाइेको प्रक्रिया तत्काल रोक्न माग गर्दछौं।

७-  समयमा काम सम्पन्न नगर्ने ठेकेदार र महँगी, कृत्रिम अभाव र कालोबजारी गर्ने व्यापारीलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई विशेष ध्यानाकर्षण गराउँदछौँ।

८-  कानुन संकाय अन्तर्गत नेपाल ल क्याम्पसमा देखिएको भर्ना समस्या समाधान गर्नका लागि अघिल्लो शैक्षिकशत्रकै संख्या बराबरका विद्यार्थीको भर्ना सुनिश्चित हुनेगरी भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ।

बैठकपछि अनेरास्ववियुका अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङद्वारा जारी विज्ञप्तीमा माग पूरा नभए कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *