काठमाडौँ — राष्ट्रसंघीय राजनीतिक मामिला विभाग (यूएनडीपीए) को ललितपुरस्थित कार्यालय नेपाल सरकारसँगको परामर्शमा आगामी तीन महिनामा बन्द गरिने औपचारिक जानकारी राष्ट्रसंघले दिएको छ ।
यूएनडीपीएले बिहीबार विज्ञप्ति जारी गरी नेपाल सरकार परराष्ट्र मन्त्रालयको आग्रहलाई ध्यानमा राख्दै दुईपक्षीय परामर्शमा कार्यालय बन्द गर्न लागेको जनाएको हो ।
‘परराष्ट्र मन्त्रालयसँगको परामर्शमा आगामी तीन महिनाभित्रमा सम्पर्क कार्यालय बन्द गरिनेछ । राजनीतिक मामिला विभाग नेपाल सरकार तथा नेपाली जनतासँग निरन्तर साझेदारीको अपेक्षा गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न आएको राष्ट्रसंघीय मिसन (अनमिन) को बहिर्गमनपछि नेपाल सरकारसँगको परामर्शमा शान्ति प्रक्रियाका बाँकी कार्य सघाउन उक्त कार्यालय नेपालमा स्थापना भएको पनि राष्ट्रसंघले जनाएको छ ।