प्रदेश २ : २९ अर्ब जनकपुर। प्रदेश २ को सरकारले कुल २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
प्रदेशसभाको शुक्रबार अपरान्ह बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारको बजेट पेस गरेका हुन्।
बजेटको कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार (४८।६० प्रतिशत) र पूँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार(५१।४० प्रतिज्त) छ। प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १० अर्ब ४८ करोड ९७ लाख ३८ हजार, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७१ करोड ६१ लाख र सशर्त अनुदानबाट ९ अर्ब १८ करोड ११ लाख, विशेष अनुदानबाट १ अर्ब र समपुरक अनुदानबाट ४० करोडसहित २८ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रहेको छ।
बजेटको अपुग १ अर्ब रुपैयाँको लागि प्रदेश सरकारले आन्तरिक ऋण परिचालनका लागि कानुनी व्यवस्था मिलाउने मन्त्री यादवले जनाए। प्रदेश २ को १ सय ३६ वटा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडको रकममध्ये बजेटमा ४० करोड रुपैयाँ बिनियोजन गरिएको छ। प्रदेशान्तर्गतका गाउँपालिकालाई ५० लाख, नगरपालिकालाई १ करोड, उपमहानगरलाई २ करोड र महानगरपालिकालाई ३ करोड रुपैयाँ सशर्त अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि दुई किस्तामा बजेटमा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रत्येक प्रदेशसभा सदस्यलाई दुई किस्तामा वितरण गरिने निर्वाचन क्षेत्र विकास कोषका लागि ५८ करोड ७५ लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।