काठमाडौं । शुक्रबार रूसको एकाटिरिनवर्गमा भएको विश्वकपको तेस्रो खेलमा इरानले मोरोक्कोलाई १–० गोलले हराएको छ ।
दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्माघाती गोलको उपहार दिएपछि इरानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको हो।
इरानका खेलाडीले प्रहार गरेको बल हेडले क्लियर गर्न खोज्दा बोहादुजले आत्माघाती गोल गरेका थिए। इन्जुरी समयमा पाएको उपहार गोलका कारण इरान महत्वपूर्ण ३ अंक जोड्न सफल भएको हो।
दुवै टोलीले खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेपनि बललाई पोष्टको दिशा दिन सकेनन्। इरानले खेलका दौरान गोल गर्ने केहि सुन्दर अवसर पाएपनि फिनिसिङमा चुकेको थियो। मोरक्कोले पनि पाएका अवसर सदुपयोग गर्न सकेन।
उपहारमा पाएको गोलले इरानले पहिलो खेलमा जित निकाल्दै ३ अंक बटुल्न सफल बन्यो । समुह बीमा इरान, मारोक्कोसँगै बलिया टोलीहरु स्पेन र पोर्चुगलपनि समावेश छन् । आजै स्पेन र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।