काठमाडौ – बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत् प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेको भेटेपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परेका छन।
चोरी नियन्त्रणका लागि बिहीबार खटिएको विद्युत् प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो।
सुरक्षाकर्मीसहित खटिएको काभ्रे वितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेसीमा हुकिङ गरी कुखुरा फर्ममा विद्युत् प्रयोग गरेको फेला पारेपछि उनलाई पक्राउ गरेको हो । लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार हिरासतमुक्त भएका छन् ।
यसैगरी राजविराज वितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष चौधरीले हुकिङ गरी घरमा विद्युत् प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्षसहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् ।
प्राधिकरणले चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको तथ्यांक सार्वजनिक गरेको छ । बिजुली चोरीका कारण मुलुकले राजस्व गुमाउँदै आएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले हरेक क्षेत्रीय कार्यालयले बढी विद्युत् चुहावट हुने जिल्लामा नियन्त्रण अभियान नै चलाउन लागेको जानकारी दिए ।