संखुवासभा — अरुण तेस्रोको सुरुङ खन्ने क्रममा मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका ४ जना शनिबार अबेरसम्म पनि भेटिएका छैनन् । भीरबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।
नुमको फ्याक्सिन्दामा निर्माणाधिन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे पहिरो झरेको थियो । सुरुङमा पुरिएर २ नेपाली र २ भारतीय कामदार बेपत्ता छन् । कालिकोट सिउना गाउँपालिका-४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका-१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोर बेपत्ता भएका हुन् । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किसोर ईलेक्टोनिक मिस्त्री थिए । पहिरो करिब ६० मिटर माथिबाट खसेको छ ।
घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दासहित ६ वटा स्काईभेटर र डोजर परिचालित छन् ।
दिनभरी पानी परेकाले उद्धारमा समस्या भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले बताए । उनका अनुसार सेनाको भीमकाली र बराहदल गुल्म, सशस्त्रको अरुण गुल्म सदरमुकाम वेस, प्रहरीको टोली र स्थानीयबासिन्दा उद्धारमा छन्। ठूल्ठूला ढुंगा हटाउन नसकिएको खण्डमा विस्फोट गर्ने सुरक्षाकर्मी पनि तयारी अवस्थामा रहेको उनले बताए ।