संखुवासभा — अरुण तेस्रोको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको अाइतबार जीवितै उद्धार गरिएको छ ।मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका उनीहरुको ३९ घण्टा पछि जीवितै उद्धार गरिएको हो ।
सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि उनीहरु शुक्रबार राति पौने ९ बजेबाट सम्पर्कविहीन थिए । सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । सुरुङभित्र २ नेपाली र २ भारतीय कामदार पुरिएका थिए ।
पहिरो करिब ६० मिटर माथिबाट खसेको थियो । पहिरो पन्छाउने क्रममा सुरुङ को मुखमा भएको ठूलो ढुंगा विस्फोट गराएपछि पुरिएकाहरुको आवाज बाहिर सुनिएको थियो । त्यसपछि डोरीको सहायताले उनीहरुलाई बाहिर निकालिएको थियो ।
उनीहरुको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । पुरिएकाहरु जीवितै हुने आशंका पछि घटनास्थलमा चिकित्सक समेतको टोली तयारी अवस्थामा राखिएको थियो । शनिबार बिहानबाट उनीहरुको उद्धार भए पनि भीरबाट धेरै माटो र ढुंगासहितको पहिरो झरेकाले कठिनाई भएको थियो । घटनास्थलमा रौताहा कम्पनी समेतका ६ वटा स्काईभेटर र डोजर प्रयोग गरिएको थियो ।