काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताउनुभएको छ ।उहाँले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिनुभएको हो ।
हैकमवादी प्रवृत्तिले काँग्रेस चल्न नसक्ने भएकाले पार्टी भित्रको गुट–उपगुट समाप्त पार्ने नेतृत्व आवश्यक रहेको भन्दै उहाँले बिपी कोइरालाको विचारलाई अगाडि बढाउने व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो ।
“काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ”, नेत्री कोइरालाले भन्नुभयो, “संसद्मा बोल्ने विषयमा पार्टीभित्र छलफल नहुँदा काँग्रेस कमजोर प्रतिपक्षका रुपमा देखिएको छ ।” ।
नेत्री कोइरालाले स्थानीय तहसम्म पार्टी संरचना लैजानुपर्नेमा अहिलेसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले युवालाई तालीम दिएर संगठन निर्माण लाग्नु काँग्रेसको प्रमुख काम भएको उल्लेख गर्नुभयो ।