काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर चीनसँग सहमति र समझदारी हुने स्पष्ट पारेका छन् ।
पाँच दिने चीन भ्रमणमा जाने अघिल्लो दिन सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणमा नेपालको हित र स्वार्थका पक्षमा आफ्नो दृष्टिकोणा राख्ने पनि बताए ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण नयाँ सम्झौता भन्दापनि अघिल्लो पटक भएका सम्झौता कार्यान्वयनमा केन्द्रीत रहेको सुनाए। ‘अघिल्लो पटकको भ्रमणमा केही दुरगामी (रेल, पारवहन, ट्रान्समिटर) सन्धि सम्झौताहरु भएका थिए, मेरो अहिलेको भ्रमण ति सम्झौता कार्यान्वयनमा केन्द्रीत छ। हाम्रा आवश्यकता बताउँछौं, उहाँहरुले हामीलाई के कस्तो सहयोग गर्न सक्नुहुन्छ त्यसमा छलफल गर्छाैं’, उनले भने– ‘चीनसँग सहयोग, सहकार्य, र संयुक्त लगानीको ढाँचामा छलफल, समझदारी र सम्झौता गर्छौं।’
‘सबै सम्झौता, समझदारी मुलुकको बृहत्तर हित र राष्ट्रको स्वाभिमानलाई केन्द्रमा राखेर हुनेछ,’ उनको भनाइ थियो, ‘मुलुकको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर गर्नेछु ।’
प्रधानमन्त्रीले एक चीन नीतिमा मुलुकको प्रतिबद्धता दोहोर्याउँदै चीनविरुद्धका कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर गर्न नदिने बताए । ‘भ्रमणमा छिमेकीका जायज चासो चिन्ताबारे ध्यान दिनेछौं,’ उनले भने ।
चीन पूरानो, समस्यारहित तथा सहयोगी भावना भएको मित्र हो भन्दै ओलीले नेपालले चीनका सकारात्मक कदममा साथ दिने बताए।
‘चीनको वन रोड वन बेल्ड अभियानमा नेपालले हस्ताक्षर गरिसकेको छ, त्यसबाट पोर्ट, बन्दरगाह, सडक हवाई मार्ग विस्तार गर्न सकिन्छ। अक्टिकल फाइबर ओछ्याउने काम भैसकेको छ, त्यसलाई प्रभावकारी विषयमा छलफल हुन्छ’, उनले भने– ‘विभिन्न करिडोर तथा नाका खोल्ने विषयमा समझदारी हुने सम्भावना छ, यी यावत प्रसंगहरुमा चीनका राष्टपतिसँग शिष्टाचार भेट हुनेछ र त्यसबेला नेपालका दृष्टिकोण राख्नेछु, सम्बन्ध सुदृढ गर्ने विषय राख्नेछु।’
चीन लामो समयदेखिको पुरानो मित्र भएको उल्लेख गर्दै ओलीले समस्यारहीत सम्बन्ध रहेको चीनले नेपाललाई सम्मान गरेको बताए । उनले आफ्नो भ्रमणले तीन वर्षाघिको भ्रमणमा भएको मित्रतालाई थप गाढा बनाउने जिकिर गरे । आफ्नो भ्रमणमा सहयोग, सहकार्य र लगानीको विषयमा कुरा जानकारी दिए ।