काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्।
उनले साेमबार साँझ ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा देवकोटाले पु-याउनुभएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गरेका छन्। यस दुःखद् घडीमा दिवंगत डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गरे।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे।