फलेवास, पर्वत। साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइेको छ ।
पर्वतको मोदी गाउँपालिका–५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान घरमा आएको हो। गत जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए।
मृतक केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शवमा दागबत्ती दिनुभयो । रोजगारीका लागि विदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ ।
रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चारजनाले नसिवमाथि आक्रमण गरेका थिए। सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका केसीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। साथीहरुले रडले प्रहार गर्दा केसीको पेटमा गहिरो चोट लागेको थियो।