प्रधानमन्त्री ओली बेइजिङमा

समाचार
शेयर गर्नु होला

 

बेइजिङ — प्रधानमन्त्री केपी ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने बताएका छन् । मंगलबार साँझ बेइजिङ पुगेलगत्तै दूतावासले गरेको सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

चिनियाँ भाषामा नै सम्बोधनको पहिलो लाइन वाचन गरेर प्रधानमन्त्रीले उपस्थित चिनियाँको ध्यान खिचेका थिए। प्रधानमन्त्री ओलीले चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुईपक्षीय सहकार्य अघि बढ्ने बताए।

प्रधानमन्त्री ओलीले ‘लुक वी’ नामक पत्रिकाको विमोचन समेत गर्दै बेइजिङस्थित नेपाली दूतावासको विच्याटको शुभारम्भ पनि गरे। एक सय २० नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलबार साँझ नै बेइजिङ अैपुगेका हुन्। टोलीमा प्रधानमन्त्री ओली, उनकी धर्मपत्नीका साथै चारजना मन्त्री छन्। विषयगत मन्त्रालयका उच्च अधिकारी, सचिवालयका सदस्य, सल्लाहकारहरु, सुरक्षा सम्बन्ध अधिकारी, उद्योगी व्यापारी, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरु त्यहाँ रहेका छन्।

नेपालले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको दोहोर्‍याउँदै चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको बताए। नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआराअी) मा आबद्ध भैसकेकोले अब ठूला लगानी र हिमालपारिको कनेक्टीभिटीमा जोड दिनुपर्ने बताए।

आफ्नो अघिल्लो भ्रमण २०७२ चैतमा भएका सन्धि सम्झौताको कार्यान्वयन र थप नयाँ सम्झौताहरू गरिने पनि उनले कार्यक्रममा बताए। मुलुक र जनताको हितलाई ध्यानमा राखेर नै सन्धि र सम्झौताहरु हुने पनि उनले बताए। चीन भ्रमणमा आएका नेपाली टोली, चिनियाँ उच्च अधिकारी, नेपाललाई माया गर्ने र नेपालबारे चासो राख्ने चिनियाँहरु, व्यापारी तथा लगानीकर्ता, चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उपस्थिति थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *