बेइजिङ – चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले
मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन्।
प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताएका हुन्। ‘अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रोे भ्रमण फलदायी हुनेछ। नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउनेछ र गहिराइमा पु¥याउनेछ।’ प्रधानमन्त्री ओलीले भने, ‘आपसी मैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर म आएको छु।’
विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको जनाए।
‘हाम्रा स्रोत, साधनको परिचालन र छिमेकी र सहयोगीको साथ सहयोग लिएर अघि बढिनेछ। राजनीतिकरुपमा स्थिर र स्पष्ट दृष्टिकोणका साथ सरकार अघि बढ्छ। प्राकृतिक स्रोत र कच्चा पदार्थ सहज उपलब्ध छ। मजदूर हडतालका समस्या छैनन् । समृद्धि र विकासका लागि उपयुक्त वातावरण बनेको छ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो।
‘चीनको असाधारण क्षमता छ। सहयोगको भावना, तत्परता र सामथ्र्य छ। नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ। दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,’ प्रधानमन्त्री ओलीले भने।