बेइजिङ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘हाम्रो अहिलेको मुख्य प्राथमिकता राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो। हाम्रो नीति र कार्यक्रमको लक्ष्य समाजवादको जग खडा गर्नु हो। हामीले शान्तिपूर्ण माध्यम र लोकतान्त्रिक प्रतिस्पर्धाद्वारा जनताको सरकार स्थापित गर्ने सोच राखेका छौँ।’
उनले अन्तर्ाष्ट्रिय कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा पार्टीलाई लोकप्रिय बनाउन सकिएको स्मरण गरे।
माओवादी सशस्त्र जनयुद्धले मुलुकका सिमान्तकृत समुदायका बीचमा राजनीतिक चेतना फैलाउँदै संविधानसभा, गणतन्त्रलाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले जानकारी दिए। यी दुवै अनुभवपछि दुई पार्टीबीच माक्र्सवाद, लेनिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्यमान्यता, आर्थिक, सामाजिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्रको सबलीकरण, समाजवादी दिशानिर्देश, आम सहभागिता र शान्तिपूर्ण लोकतान्त्रिक माध्यमको नीतिगत विशेषतासहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे।
उनले नेकपाले हाल संघीय संसद्मा दुई तिहाइ जनमत र सातमध्ये छ प्रदेशमा सरकार सञ्चालन गरिरहेको जानकारी दिँदै यसबाट जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनादेश दिएकाले सरकार आफ्ना सबै प्रयासमार्फत समृद्ध नेपाल र सुखी नेपालीको संकल्प साथ अघि बढिरहेको बताए।
नेपालले पञ्चशील सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चीन सरकार र जनताले नेपालको शान्ति प्रगति र समृद्धिको चाहनामा सामान्य तथा विशिष्ठ अवस्थामा सहयोग गर्दै आएकोमा प्रशंसा गरे।
उनले सो पार्टी स्कुलको अवलोकन गरेका थिए। पार्टीलाई जनतासँग जोड्न, नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्न त्यस्ता स्कुल महत्वपूर्ण हुने भन्दै उनले यसबाट आफूहरुले पनि सिक्ने अवसर पाएको बताए।
प्रधानमन्त्रीले कम्युनिष्ट स्कुलको अनुभवको आदानप्रदान गर्दै सुशासन र समृद्धिका लागिसमेत सहयोग पुग्ने भएकाले आफूहरुलेसमेत सकारात्मक भूमिका खेल्ने उल्लेख गरे। रासस