मोरङ — आफैलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाकाे आन्दोलन गराउन असफल प्रयास गरेका आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार धरौटीमा रिहा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को क बमोजिम जेठ १६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।जिल्ला प्रशासनको आदेशबिरुद्ध उनले मुलुकी ऐनको अदालती बन्दोवस्त महलको १७ नम्बर बमोजिम जिल्ला अदालतमा पुनरावेदन गरेका थिए। उनलाई झुम्का कारागारमा राखिएको थियो।
विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराणबाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान १:४५ बजे शौच गर्न कोठाबाट बाहिर निस्केका बेला गोली प्रहारबाट घाइते भएका थिए।
उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए। काठमाडौंबाट थप उपचारका लागि भारतको दिल्ली जान लागेको समयमा बैशाख २४ गते बिहान आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो।#