काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। गत चैतमा सञ्चालित एसइई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ प्रकाशित गरेको हो।
नतिजाअनुसार जिपिए ३।६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या १४ हजार दुई सय ३४ जना छ। ३।२५ देखि ३।६० जिपिए (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४६ हजार एक सय ३० र जिपिए २।८५ देखि ३।२० (बी प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ छ।
यस्तै ७० हजार पाँच सय १२ विद्यार्थीले जिपिए २।४५ देखि २।८० (बी ग्रेड) ल्याएका छन्। जिपिए २।०५ देखि २।४० (सी प्लस ग्रेड) ल्याउने विद्यार्थी ६१ हजार आठ सय ७० र जिपिए १।६५ देखि २।०० (सी ग्रेड) ल्याउने विद्यार्थी एक लाख एक हजार ४३ छन्। जिपिए १।२५ देखि १।६० (डी प्लस ग्रेड) ल्याउनेको संख्या ३५ हजार पाँच सय ८४ र जिपिए ०।८५ देखि १।२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ छ। एक्जाम्टेडतर्फ भने एकजना विद्यार्थीले पनि जिपिए ३।६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउन सकेका छैनन्। यस वर्षको एसइई नियमिततर्फ चार लाख ५१ हजार पाँच सय ३२ जना परीक्षार्थी सहभागी थिए। तीमध्ये दुई लाख २३ हजार ६ सय एक छात्र र दुई लाख २७ हजार ९ सय ३१ छात्रा रहेको पनिकाले जनाएको छ । परीक्षामा एक्जाम्टेडतर्फ २५ हजार एक सय ३८ जना सहभागी थिए।
शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ असार १५ गते प्रमाणीकरण भएपछि विगत लामो समयदेखि कक्षा १० को परीक्षाका रुपमा हुँदै आएको स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परिवर्तन भएको हो। साथै नतिजा पनि ग्रेड सिस्टम (अक्षरांकन पद्धति) मा प्रकाशित गर्न थालिएको हो। ग्रेडिङ प्रणालीमा कुनै विद्यार्थीलाई अनुत्तीर्ण मानिँदैन। विगतमा कम विद्यार्थी पास भएको भन्दै सरोकारवाला निकायको आलोचना हुने गथ्र्यो। पछिल्ला दुई वर्षमा भने यो आलोचनाबाट सरोकारवाला निकायले छुटकारा पाएका छन्। तर शिक्षाको स्तर भने कमजोर हुँदै गएको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन्। ‘अब न विद्यार्थीले मेहनत गर्नुपर्ने भयो न शिक्षकलाई नै विद्यार्थी पास भएनन् भन्ने चिन्ता हुने भो। जाँच दिँदादिँदै पास हुने प्रणालीमा गुणस्तर खोजेर कसरी हुन्छ ?’
गत वर्षको एसइई परीक्षामा चार लाख ४५ हजार पाँच सय ६४ जना विद्यार्थी सहभागी थिए। तीमध्ये १२ हजार दुई सय ८४ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए। गत वर्षभन्दा परीक्षामा सहभागी विद्यार्थीको संख्या धेरै भएकाले ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको संख्या केही बढी छ। तर समग्रमा विद्यार्थीले प्राप्त गरेको ग्रेड खस्किएको छ। गत वर्ष जिपिए ०।८५ देखि १।२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ११ हजार दुई सय ८५ थियो। तर यस वर्ष ५८ हजार ६ सय ८८ विद्यार्थीको डी ग्रेड आएको छ। यसले ग्रेडिङ प्रणालीमा प्रवेश गरेपछि कमजोर विद्यार्थीको अवस्था झनै खस्किएको देखिएको छ।