अदिस अबाबा- नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। घटनामा ८३ जना घाइते भएका छन्।
इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित -यालीमा दशौँ हजार समर्थक तथा शुभेच्छुक सहभागी भएका थिए। जुलुसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अनुसार अवियले सम्बोधन गरिरहेका समय विष्फोट गराइेको थियो।
राजधानीको मुटुमा आयोजना गरिएको सभामा विष्फोट भएपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई बिचैमा राकेर घटनास्थलबाट बाहिरिएका थिए ।
जुलुसमा भएको अपार सहभागितालाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ।
यसै वर्षको फेब्रुअरी महिनामा तत्कालीन प्रधानमन्त्री हेलीमारियम देसालेगनले आफ्नो पदबाट राजीनामा दिएपछि अहमद इथोपियाका प्रधानमन्त्री बनेका थिए। इथोपियाको ओरोमो जातिबाट प्रधानमन्त्री बन्ने अहमद पहिला व्यक्ति हुन्। उक्त जातीय समूहले कम्तीमा तीन वर्ष सरकार विरोधी प्रदर्शन गरेको थियो र त्यस अवधिमा सयौं मानिसको मृत्यु भएको थियो।