काठमाडौँ — एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो ।
कार्यालयले अाईतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या देखिएकाले पहिले ग्रेडसिट डाउनलोड गरिसकेका परीक्षार्थीले पुन: डाउनलोड गर्न अनुरोध छ ।’
परीक्षा नियन्त्रक अंबिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटिका कारण नतिजामा गडबडी आएको स्वीकार गरे । ‘नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा ग्रेडसिट हेर्ने व्यवस्था गरेका थियौं,’ उनले भने, ‘कार्यालयको साइटले डाटा सपोर्ट नगर्दा समस्या भयो ।’ टेलिकमको साइटले भने आधिकारिक ग्रेडसिट देखाएको उनको दाबी छ । विषयानुसारको ग्रेड प्वाइन्ट सफ्टवेयरले सपोर्ट नगर्दा समस्या आएको कार्यालयका प्राविधिकहरूको भनाइ छ ।
‘पहिले हेर्दा थोरै थियो, पछि ग्रेड बढेर आएको छ,’ काठमाडौं प्याब्सनका सदस्य विष्णुप्रसाद अर्यालले भने, ‘कुनचाहिँलाई विश्वास गर्ने ?’ एसैइीजस्तो परीक्षाको नतिजामा भएको चरम लापरबाहीले परीक्षार्थी र अभिभावकले तनाव भोग्नुपर्यो ।
अाईतबार दिनभर विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयले ग्रेडसिट प्रिन्ट गर्दा फरक–फरक जीपीए आएपछि कार्यालयलाई जानकारी गराएका थिए । त्यसलगत्तै बसेको परीक्षा बोर्डको बैठकले त्रुटि सच्याउने निर्णय गरेको थियो ।