बागलुङ । भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय बरेङका सहायक निरिक्षक मंगल नेपालीको नेतृत्वमा गएको उद्दार टोलीले मंगलबार बिहान मात्र शव निकालेको प्रहरी नायब उपरीक्षक विश्वराज सिंह थापाले बताए । खत्रीका दुई छोरी काम बिशेषले जिल्ला बाहिर गएकोले बाँचेका छन् ।
उनीहरुकागाेठमा रहेका पशुचौपाया पनि पुरिएर मरेका छन् । इलाका प्रहरी कार्यालय बरेङका प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । लुरुङमै अन्य २ घर र ३ गोठ पनि पुरिएका छन् ।
सोमबार रातीको बर्षाले गलकोट नगरपालिकाको विभिन्न स्थानमा पहिरो खस्दा धेरै क्षति भएको नगर प्रमुख भरत शर्मा गैह्रेले बताए । ‘घटनास्थलमा जाने बाटो पनि छैन,’ गैहैले भने, ‘उद्दारमा खटिएका युवाहरुलाई पनि सास्ती भएको छ ।’ जनप्रतिनिधिहरुलाई पनि टाेलीमा बाँडेर खटाएको उनले बताए ।