काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिपुलेकबारे प्रधानमन्त्रीको चीन भ्रमणमा कुरा नउठेको भन्दै असन्तोष व्यक्त गरेको छ ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिपुलेकबारे तयारी अभावका कारण चीनसँग सम्बाद हुन नसकेको प्रष्टीकरण दिनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेकबारे कुरा नगरिएको भन्दै प्रश्न गर्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले आफूहरुको तयारी नपुगेको भन्दै आलटाल जवाफ दिनुभएको थियो । चीन र भारतले नेपालको भूमि लिपुलेकमा सीमाव्यापार गर्ने सहमति गरेपछि उक्त भूमि विवादमा परेको थियो । प्रधानमन्त्री ओलीले लिपुलेकबारे विषयगत अध्ययन गर्न बाँकी रहेको बताउनुभयो ।
कुनै पनि नाममा सीमाको लेनदेन नहुने भन्दै उनले भने, ‘हाम्रो देश छिमेकीहरु भन्दा सानो छ । तर, सानो देशले छोडिछोडी सम्झौता गर्नुपर्ने हुँदैन ।’
सरकारले देशको सीमानाको सुरक्षा गर्ने भन्दै उनले भने, ‘तर, कतिपय कुरा लामो समयदेखि पेन्डिङ छन् । कसरी भए भनेर मन्त्रालयगत अध्ययन गर्न समय लाग्ने भयो । त्यत्तिकै कुरा उठाउने र किनारामा नपुर्याउनु, सबै कुरा एकै पटक उठाउनु र कुनै पनि कुरा निश्कर्षमा नपुर्याउनु उचित हुँदैन ।’
यस्तै, काँग्रेसले चीनसँग पारवहन सम्झौतामा हस्ताक्षर हुन नसकेको कारण मागेको थियो । प्रधानमन्त्री ओलीले अौँदो जुलाईमा सम्झौता हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।