वीरगन्ज- पेट्रोलियम ढुवानीको झन्झटिलो प्रक्रिया अन्त्य गर्न सुरु भएको पाइपलाइन विस्तार योजना तीव्र गतिमा अघि बढेको छ ।
भारतदेखि नेपालको अंअलेखगन्जस्थित तेल भण्डारण केन्द्रमा पाइपमार्फत पेट्रोलियम पदार्थ ढुवानीका लागि सुरु भएको पाइप बिछ्याउने कार्य नेपालतर्फ १३ किलोमिटरमा सकिएको छ । यससँगै नेपालतर्फको ३५ दशमलव ९१ प्रतिशत सफलता हो। पेट्रोलियम ढुवानीका लागि नेपालतर्फ ३६ दशमलव २ किलोमिटर पाइप बिछ्याउनुपर्नेछ ।
काम सुरु भएको १५ महिनामा सक्नैपर्ने समयसीमा छ । सो समयसीमामा काम सक्न भन्दै नेपालपक्षले पाइप गाड्ने प्राविधिक र मेसिनसमेत भारतबाट ल्याइेको छ ।आयोजना समयमै सम्पन्न हुने इन्जिनियर पौडेको दाबी छ ।
नेपालतर्फ सीमावर्ती क्षेत्र वीरगन्ज भन्सार हुँदै अंअलेखगन्ज भण्डारण केन्द्र पु¥याउँदा ९ किलोमिटर पर्सा वन्यजन्तु आरक्ष जंगल क्षेत्रभित्र पाइप बिछ्याउनुपर्छ । तर, यसका लागि सम्बन्धित निकायबाट भने अनुमति अाइसकेको छैन ।
इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीबाट रक्सौल र रक्सौलबाट वीरगन्ज भन्सार नाका हुँदै बाराको अंअलेखगन्जसम्म नेपालको भूभागमा ३६ दशमलव २ किलोमिटर पाइप बिछ्याउनुपर्नेछ । भारततर्फ पर्ने ३२ दशमलव ७ किलोमिटर पाइप बिछ्याइसकेपछि मात्र पाइपमार्फत तेल ल्याउने प्रक्रिया अघि बढ्नेछ ।
पहिलो फेजमा डिजेल ल्याउने तयारीका साथ १ हजार ४०८ वटा फलामे पाइप जमिनमुनि गाड्ने क्रम चलिरहेको छ । ८ फिट ३ इन्च गहिरोमा गाडिने पाइपमार्गमा थुप्रै स्थानमा नदी र खोलसमेत पर्छन् । यस्ता स्थानमा भने वर्षात्को समयमा पाइप बिछ्याउन समस्या हुन सक्ने नेपाल पक्षको भनाइ छ ।
पेट्रोलियम पदार्थ भण्डारण गर्न अंअलेखगन्जको भण्डारस्थलका ठूला चारवटा ट्यांकीमध्ये दुईवटा ट्यांकीको रेडियोग्राफ, बटम टेस्टलगायत मर्मतको कामसमेत भैरहेको मोतिहारी–अंअलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्ट कार्यालय सिमराले जनाएको छ ।