काठमाडौं । हनुमान ढोका दरबार स्क्वायरस्थित गद्दी बैठक भवनको जिर्णोद्धार सकिएको छ विश्वसम्पदा सूचीको सो भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
सबै सम्पदाहरु अहिले पुनर्निर्माणको प्रतीक्षामा रहँदा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकाको महत्वपूर्ण प्रतिक गद्दी वैठक भने मौलिक स्वरुपमा नै सिंगारिएको छ ।
अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एेफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान दीइ मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो ।
विक्रम संवत १९६५ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्मित गद्दी बैठकमा २०७२ साल वैशाख १२ को भूकम्पले गम्भीर क्षति पु¥याएको थियो । तत्कालीन समयमा कुनै पनि राजकुमार राजा बन्दा पहिलो पटक यही स्थानमा श्रीपेच पहिराईन्थ्यो ।
अति विशिष्ट विदेशी पाहुनालाई स्वागत सत्कार पनि गद्दी बैठकमै गरिन्थ्यो । गद्दी बैठक विशाल बैठक कक्षसहित विदेशी पाहुनालाई राख्ने ठाउँको रुपमा रहेको थियो भने त्यहाँ हात्तीको दाँतबाट बनेको फ्रेम, काष्ठकलाका सामग्री, पेन्टिङ लगायत ऐतिहासिक महत्वका बस्तु रहेका छन् । भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठक अब पुरानै स्वरुपमा फर्किएको छ । बुधवार एक कार्यक्रमका बीच गद्दी बैठक पुन उद्घाटन गरिएको छ ।