काठमाडाैं- अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन्।
कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ॐअप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने फैसला गरेको हो। सो फैसलाले अपाङ्गता भएका व्यक्तिलाई सगरमाथा आरोहण गर्न बाटो खुल्ला भएको छ।
दुवै हात वा दुवै खुट्टा वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने भन्ने पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ नेपालको संविधानको मौलिक हकान्तर्गत समानताको हकसँग बाँझिएको हुँदा सो नियमावली खोरज भएको फैसलामा उल्लेख छ।
सर्वोच्च अदालतमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईंका तर्फबाट भानु निरौलाले पर्वतारोहणसम्बन्धी नियमावलीमा अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने गरी बनाएको नियमावली खारेज गर्न माग गर्दै गत फागुन १४ गते रिट निवेदन दायर गरेका थिए।
नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानूनको प्रयोगमा विभेद गर्न नपाइने संवैधानिक व्यवस्था हनन भएको, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिमा व्यवस्थाअनुसार बिना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित गरेको, अपाङ्गता भएका व्यक्तिको आत्म सम्मानमा चोट पुगेको, संविधानको धारा, ४२ ले प्रदान गरेको सामाजिक न्यायको हकमा नै बन्देज गरेको रिट निवेदनमा उल्लेख छ। रासस