धादिङ — धादिङको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ ।
खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना सदस्य गरी पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा खानियाँबास ५ का राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी छोरी लक्ष्मी र पाँच वर्षकी छोरी सरस्वतीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी डम्बर बिकले जानकारी दिए । उनीहरुको छोरा १० वर्षका विकास गुरुङ सामान्य घाइते भएका छन् । उनको नजिकको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
यसैगरी खनियाँबास–४ चिउरीबोट गाउँमा पहिरोमा पुरिएर ६० वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको एसपी विकले जानकारी दिए ।
घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ । बर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सबै सडक अवरुद्ध भएकोले सदरमुकामबाट जान सकेका छैनन् । इलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली चिउरी खर्क पुगिसकेको छ भने साइश्वारामा अझै पुग्न सकेका छैनन् ।