गृहमन्त्री थापाको अधिनायकवाद को ब्याख्या: ‘मलाई त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद हो’

समाचार
शेयर गर्नु होला

 

काठमाडौं – माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् ।

विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने- ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’

डा. केसीले हठ गरेको दाबी गर्दै मन्त्री थापाले व्यंग्यात्मक शैलीमा भने- ‘अधिनायकवादको अर्थ के हो त भन्दाखेरि मलाई त्यही केटी चाहिन्छ भन्ने पनि हो ! हजारौं ठाउँहरु खुल्ला छन्, अन्त विरोध प्रदर्शन गर्न नचाहने, त्यही ठाउँ (मण्डला) मा मात्रै गर्न चाहने भन्ने कुरो अधिनायकवाद हो ।’

डा. गोविन्द केसीको मागलाई ठाडै अस्वीकार गर्दै मन्त्री थापाले त्यहाँ विरोध प्रदर्शन गर्न दिँदा नागरिकहरुको अधिकार हनन हुने जिकिर गरे । मन्त्री थापाले भने- ‘माइतीघर मण्डलाजस्तो ठाउँमा विरोध प्रदर्शन गर्न दिने हो भने त त्यहाँ पुरै यातायात जाम हुन्छ । यातायात जाम भयो भने अन्य नागरिकहरुको अधिकार अतिक्रमण हुन सक्छ । त्यसैले यो कुरा नागरिकहरुको अधिकारसँग जोडिएको कुरा हो । सुरक्षासित जोडिएको प्रश्न पनि हो ।’

डा. गोविन्द केसी नागरिकको प्रतिनिधि भएता पनि निर्वाचनबाट आएको यो सरकार पनि नागरिककै प्रतिनिधि भएको मन्त्री थापाले दाबी गरे । उनले भने- ‘यो सरकार जनप्रतिनिधिहरुको सरकार हो । उहाँले नागरिकहरुको प्रतिनिधित्व गर्नुहुन्छ भने यो सरकारले पनि त नागरिककै प्रतिनिधित्व गर्छ । वास्तवमा नीति नियमसँग हठ गर्ने कुरालाई हामीले लोकतन्त्र ठान्दैनौं ।’

गृहमन्त्री थापाले निशेधित क्षेत्रहरु तोक्नुको कारण खुलाउँदै भने- ‘हामीले जनताको जीउधनको सुरक्षा गर्नुपर्छ । कुनै पनि ठाउँमा नागरिकहरुले आवाज उठाउन सक्छन् । त्यस्तो आवाज निश्चित ठाउँबाट उठाउने हो । केही निश्चित ठाउँहरुलाई निषेधित क्षेत्रजस्तो तोकिएको छ । र, अरु सबै ठाउँहरु खुला छन्, त्यहाँ नागरिकहरुले आफ्ना आवाज उठाउन सक्छन् । केही ऐतिहासिक ठाउँहरुलाई निशेत्रित क्षेत्र तोकिएको छ, त्यही पनि नागरिकहरुकै सुरक्षाको निम्ति । आवागमनहरु व्यवस्थित होस् भन्नका निम्ति खासखास ठाउँहरुलाई हामीले निशेधित गरेको हो ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *