काठमाडौँ — मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालका हितमा सफल रहेको निष्कर्ष निकालेको हो। ‘मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण नेपालका पक्षमा काम हुने गरी सफल भएको निष्कर्ष निकालेको छ,’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने।
मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसद्मा पेस गर्ने निर्णय गरेको छ।
त्यसैगरी युरोपेली युनियनले ५ अर्ब ६ करोड अनुदान सहायता दिने भएको छ। मन्त्रिपरिषद्ले ईयूको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। यो सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च गरिने जानकारी बाँस्कोटाले दिए।