प्रहरीले अपराधिक तत्वसँग साँठगाँठ गरेको पाईेए जागिरमै नरहने गरेर कारवाही गरिने :महानिरीक्षक खनाल

समाचार
शेयर गर्नु होला

 

सुर्खेत– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहुँच र पैसाको भरमा कुनै पनि अपराधीले उन्मुक्ति नपाउने बताएका छन्।  ‘अपराधीहरुलाई समाजमा राख्नु हुँदैन्, उनीहरुलाई निमूल गर्नुपर्छ’, शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा बालबालिका सेवा केन्द्रको भवन उद्घाटन गर्दै अाईजिपी खनालले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको खाँचो छ।’

प्रहरीले अपराधिक तत्वसँग साँठगाँठ गरेको पाइे जागिरमै नरहने गरेर कारवाही गर्ने चेतावनी दिए। ‘हिजोका दिनमा के भयो म त्यतातिर जान्न’ उनले भने, ‘वर्तमान अवस्थामा प्रहरी देख्ने वित्तिकै अपराधी काँप्नुपर्छ, यसका लागि कुनै पनि प्रहरी परिवारको सदस्यले अपराधीहरुसँग साँठगाँठ गर्नु हुन्न।’ उनले अपराधिक मनोवृत्ति भएका राक्षसहरुको अन्त्य आफ्नो लक्ष्य भएको बताए।   ‘बालिकामाथि हुने बलात्कार, महिलामाथि हुने हिंसाका घटना मैले यहाँबाट सुन्न नपरोस्’ उनले भने, ‘यस्तो कार्यमा संलग्न रावण र राक्षसको अन्त्य गरिनुपर्दछ।’ उनले प्रहरीको अनुसन्धान प्रक्रिया महिला तथा बालबालिका मैत्री हुनुपर्ने बताए।

अाईजिपी खनालले जनताबाट माया पाउनका लागि प्रहरीभित्र ठूलो परिवर्तनको खाँचो रहेको औल्याए। ‘माया पाउनका लागि त्यस्तै खालको सेवा नागरिकहरुलाई दिनुपर्छ’ उनले भने, ‘अहिलेकै परिस्थितिमा जनताले प्रहरी संगठनलाई माया गर्दैनन्, यसका लागि ठूलो परिवर्तनको खाँचो छ।’ उनले पश्चिम नेपालमा बालविवाह, दाइजो, आत्महत्या लगायतका घटनाहरु धेरै रहेको भन्दै यसको न्यूनिकरणका लागि लाग्नुपर्ने बताए। अाईजिपी खनालले समाजमा रहेका कुरीतिहरुको अन्त्य गर्दै महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गरे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *