त्रिभुवन विश्विद्यालयले परीक्षा शुल्क घटायो, ल क्याम्पसमा सबै विद्यार्थीले पढ्न पाउने

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । त्रिभुवन विश्विद्यालयले देशव्यापी रुपमा बढाएको परीक्षा शुल्क घटाएको छ । विद्यार्थी संगठनहरुको दबावमा त्रिविले एक हजार शुल्क घटाएको हो ।

यसाघि स्नातकोत्तर पहिलो सेमेस्टरबाट लागू हुने गरी २ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको थियो । त्यसाघि एक हजार रुपैयाँ मात्र शुल्क थियो ।

आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच शुक्रबार भएको वार्तामा शुल्क घटाउने सहमति भएको हो । ‘वृद्धि भएको शुल्क घटाउन हामी सफल भएका छौं,’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘अब त्रिविले १ हजार पाँच सय रुपैयाँ परीक्षा शुल्क लिने सहमति भएको छ ।’

यसैबीच नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी अध्ययन गर्न सबै विद्यार्थीहरुले पाउने भएका छन् । यसाघि ८ सय जनालाई मात्र भर्ना लिने निर्णय क्याम्पस प्रशासनले गरेको थियो । ८ सय जनाका लागि क्याम्पसले लिएको प्रवेश परीक्षामा ४ हजार ८ सय विद्यार्थीहरु सहभागी भएका थिए । तर संयुक्त विद्यार्थी संगठनको दबावमा कोटा निर्धारण नगर्ने र प्रक्रिया पुर्याएर सबै विद्यार्थीहरुलाई भर्ना लिन क्याम्पस प्रशासन सहमत भएको छ । एलएलबी पढ्न इच्छुक विद्यार्थीहरु २१ गतेदेखि भर्ना हुन सक्ने छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘कानुनको अध्ययन गर्न पाउने हक सबैलाई छ । संघीयता कार्यान्वयन भएपछि कानुन अध्ययन गरेको जनशक्ति झन् धेरै आवश्यक छ । त्यसैले कोटा तोकिनु गलत छ भनेर हामीले विरोध गर्दै आएका थियौं । अब कलेज पनि पढ्न इच्छुक सबैलाई भर्ना लिने सहमति भएको छ ।’

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *